अर्जुनधारा । उनीसँगै सशस्त्र विद्रोहमा हिँडेका केपी ओली दुई पटक प्रधानमन्त्री भइसके । सीपी मैनाली र राधाकृष्ण मैनाली मन्त्री भए । तर, २०२८/२९ को झापा विद्रोहमा लागेर १७ वर्ष कठोर जेल जीवन बिताएका मानकुमार तामाङले एउटा घरसम्म बनाउन सकेका थिएनन् ।
झापा अर्जुनधारा १ को एउटा काठे टाँटमा जीवन गुजार्दै आएका तामाङका लागि स्थानीय लेखक र पत्रकारले पक्की घर बनाइदिएका छन् । गुरुपूर्णिमाको अवसरमा बुधबार उनलाई घर हस्तान्तरण गरिएको छ । चुहिने र भत्किन लागेको कच्ची घरबाट शुभेच्छुकले बनाइदिएको भवनमा सर्दा तामाङ खुसी देखिन्थे ।
‘त्यत्तिका बर्ष जेल बसेर फर्किंदा जुन खुसी थियो, आज नयाँ घरमा गृहप्रवेश गर्दा उस्तै खुसी लागेको छ’, उनले भने, ‘हामीले सबैका घर होऊन्, कोही भोकै बस्न नपरोस् भनेर आन्दोलन गरेका थियौँ । यत्रो वर्ष राजनीति गर्दा बल्ल मैले घर पाएँ ।’ परिवर्तनका लागि गरेको आन्दोलनमा जीवन लगाउने योद्धालाई राज्यले हेर्नुपर्नेमा त्यस्तो नभएको भन्दै तामाङले गुनासो गरे ।
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि कृष्णप्रसाद भट्टराईको सरकारले राजनीतिक पीडितका लागि केही राहत रकम उपलब्ध गराएको थियो । त्यतिबेला तामाङले ७० हजार राहत प्राप्त गरेका थिए । त्यसबाहेक आफ्नै सहयोद्धा केपी ओली, सीपी र आरके मैनाली सरकारमा जाँदा पनि क्रान्तिकारी योद्धालाई नसम्झिएको उनले बताए ।
सोही राहतबाट उनले पाँच कठ्ठा ऐलानी जग्गा किनेर बसेका थिए । सक्रिय राजनीतिमा नरहेका तामाङ लामो समय एमाले र पछि माओवादी केन्द्रका समर्थकका रूपमा रहे । आर्थिक कारणले सक्रिय राजनीतिमा हिँड्न भने सकेनन् । उनका एक छोरा दमकमा मजदूरी गर्छन् ।
राजनीतिमा लाग्ने धेरै नेताले लाभ उठाए पनि १७ वर्ष जेल बसेका योद्धाको दयनीय स्थिति देखेपछि लेखक, पत्रकारहरूको पहलमा सहयोग अभियान चलाएर घर बनाएको निर्माण समितिका सदस्य तीर्थ सिग्देलले बताए । सिग्देलले भने, ‘देशविदेशमा रहनुभएका समाजसेवी दाता, पत्रकार र लेखकको पहल तथा सहयोगबाट घर निर्माण भएको हो ।’
सिग्देल, लेखक कुमार भट्टराई, दिपिन राईलगायत ५-६ जनाको पहलमा तामाङलाई सघाउने अभियान थालिएको थियो । उनको घरमा खाट र अरु बन्दोबस्तीका सामान पनि पर्याप्त नभएकाले त्यो पनि जुटाउन लागि परेको सिग्देल बताउँछन् । अभियानका संयोजक कुमार भट्टराईका अनुसार घर निर्माणमा अहिलेसम्म १० लाख खर्च भइसकेको छ । त्यसमध्ये डेढ लाख ऋण छ ।