अन्तराष्ट्रिय

ताप्लेजुङका ३ जना रेडपाण्डा र चितुवाको छालासहित भारतमा पक्राउ

By admin

August 20, 2022

काँकडभिट्टा । संकाटापन्न सूचीको रेडपाण्डा र लोपोन्मुख चितुवाको छालासहित तीन नेपाली भारतको सिलिगुडीमा पक्राउ परेका छन् । ताप्लेजुङका ३५ वर्षीय चन्द्रप्रकाश चेम्जोङ, २५ वर्षीय गोविन्द साम्बा लिम्बु र ३७ वर्षीय याक्पु शेर्पालाई जल्पाइगुडी जिल्लाको वैकुण्ठपुर वन डिभिजनले पक्राउ गरेको हो ।

 

रेन्जर अधिकृत सञ्जय दत्तासहितको टोलीले एउटा चितुवाको र दुईवटा रेड पाण्डाको छालासहित तीन नेपालीलाई न्यू जल्पाइगुडी नजिकैबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

 

तीनै जना अभियुक्तलाई बुधबार जलपाइगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । यी तीनै जना नेपाली मोटरसाइकलमा सवार थिए । प्रहरीले गोप्य सूचनाका आधारमा उत्तरबङ्गाल विश्वविद्यालय, बागडोग्रा नजिकैबाट पछ्याएको थियो । प्रहरीले पछ्याएको सुइँको पाएपछि उनीहरु भागेर न्यू जल्पाइगुडी पुगेका थिए ।

 

प्रारम्भिक अनुसन्धानबाट उनीहरू चितुवा र रेडपाण्डाको छाला चीन तस्करी गर्ने योजनामा रहेको बताइएको छ । ‘भुटानका तस्करमार्फत छालाहरु चीन पठाउने उनीहरुको योजना थियो’, रेन्जर दत्ताले भने,‘ आरोपित व्यक्तिले ३० लाख रुपैयाँमा भारत–भुटान सीमा क्षेत्रमा छाला पुर्‍याउने गरेको र सिलिगुडी कोरिडोरबाट चीन तस्करी हुने गरेको खुलेको छ ।’

 

जनावरका अंग र छालाको दरभाउ निश्चित भएपछि नेपाली बिचौलियाहरुले भुटानका तस्करलाई पठाउँदै आएका थिए । भारत–भुटानको सिमावर्ती सहर फुन्छोलिङमा मोलमोलाईपछि सामान आदानप्रदान हुँदै आएको वन कार्यालयको दाबी छ । चितुवा र रेडपाण्डाको छाला भुटानसम्म पुर्‍याउन उनीहरूले करिब ३० लाख भारुमा माग गरेको बुझिएको छ ।

 

यसपटक ताप्लेजुङको मिख्वाखोला क्षेत्रवाट चितुवा र रेडपाण्डाको छाला संकलन गरी अन्तर्राष्ट्रिय सिमाना नाघेर भारत पुर्‍याएका थिए । केही समयअघि उनीहरुले पानीटंकीमा छाला लुकाएर राखेको बुझिएको छ ।

 

रेडपाण्डाको छाला भारतमा पहिलो पटक बरामद गरिएको वनको दाबी छ । वैकुण्ठपुर वन महाशाखाका डीएफओ हरिकृष्णनले आरोपीहरूलाई भारतको वन्यजन्तु संरक्षण ऐन, १९७२ को धारा ५१ अन्तर्गत कारबाही गरिने जनाए । इकान्तिपुरबाट