राजनीति

झापामा शीर्ष नेताको उम्मेदवारी सिफारिस सर्वसम्मत

By admin

September 11, 2022

काँकडभिट्टा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले गत मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नाम झापा ३ बाट संघीय उम्मेदवारको रुपमा सर्वसम्मत निर्णय गर्‍यो । अघिल्लो दिन नै एमालेले झापा ५ बाट अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

 

कांग्रेसले पनि पूर्वमहामन्त्री कृष्ण सिटौलालाई झापा ३ बाट र महामन्त्री विश्वप्रकाश शर्मा साताअघि नै झापा १ बाट अघि सार्‍यो । एमालेले झापा १ बाट केन्द्रीय सदस्य रविन कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेमा झापा १ र झापा ५ मा सर्वसम्मत निर्णय गरेको हो ।

 

झापा २ मा पूर्वमन्त्री अग्नी खरेलको नाम सर्वसम्मत हुन सकेन । उनीसहित सांसद पवित्रा निरौला खरेल, देवराज घिमिरे र ध्रुव शिवाकोटी पनि यो क्षेत्रमा संघीय सांसद बन्ने आकांक्षामा छन् ।

 

झापा ३ मा राप्रपाले एमालेसँग तालमेल गर्ने सम्भावना छ । जसकारण झापा ५ मा राप्रपाले उम्मेदवार सिफारिस गरेको छैन । केपी ओलीको यो क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा राप्रपाले कांग्रेस र माओवादीसँग तालमेल गरेर एमालेलाई पराजित गरेको थियो । राप्रपा नेता रामकुमार थापा प्रमुखमा विजयी भए ।

 

निर्वाचनअघि कांग्रेस र माओवादीसँगको एक संझौतामा थापाले प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मै तालमेललाई निरन्तरता दिने लिखित सहमति गरेका थिए । जसकारण यो क्षेत्रमा एमाले अध्यक्ष ओली अलि बढी सकसमा देखिएको विश्लेषकहरू बताउँछन् ।

 

यदि झापा ३ मा एमाले-राप्रपा तालमेल नभए राप्रपा अध्यक्ष लिङदेन, कांग्रेस नेता सिटौला, माओवादीका पूर्ण सिंह राजवंशी र एमालेबाट मेडिकल व्यवसायी दुर्गा प्रसाई उम्मेदवार बन्ने सम्भावना छ ।

 

झापा १ मा विश्वप्रकाश र एमाले नेता रविन कोइरालाबीच ९ वर्षपछि भिडन्त दोहोरिने संभावना देखिएको छ । २०७० को चुनावमा शर्मा कोइरालासँग पराजित भएका थिए । यसपटक टिकट पाए पुरानो हारको बदला लिने योजनामा शर्मा छन् भने कोइराला पनि जित दोहोर्‍याउने ध्याउन्नेमा छन् ।

 

राप्रपाले झापा ४ बाट बाबुछोरीलाई उम्मेदवार सिफारिस गरिएको छ । प्रतिनिधिसभामा पूर्वमोडेल खुश्बु ओली र उनका बाबु श्याम ओली प्रदेशसभाका लागि सिफारिस भएका छन् । गत स्थानीय तह निर्वाचनमा कन्काई नगरबाट मेयरको उम्मेदवार बनेका श्याम पराजित भएका थिए । राप्रपाले अधिकांश पुराना अनुहार दोहोर्‍याएको छ । इकान्तिपुरबाट