कला

मह जोडीसहित ‘महापुरुष’को टिम बिर्तामोड आउने

By admin

October 06, 2022

झापा । आउँदो कार्तिक ११ गतेबाट रिलिजको तयारी रहेको फिल्म ‘महापुरुष’को प्रोमोशनल टुरको मिति तय भएकोछ । जात्रा, जात्रै जात्रै, शत्रुगते जस्ता हिट फिल्म निर्माण गरेको चर्चित ब्यानर षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘महापुरुष’को प्रचारप्रसार यतिबेला तीव्र पारिएको छ ।

 

प्रचार प्रसारकै क्रममा निर्माण टिम असोज २५ गतेदेखि ३० गतेसम्म देश दौडाहमा निस्कने भएको छ । टिममा लोकप्रिय मह जोडी, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, प्रदिप भट्टराईलगायत फिल्मका करिब १५ कलाकारहरु रहने प्रोडक्सन म्यानेजर बिनिश थापाले जानकारी दिए ।

 

प्रोमोशन टिम देशका मुख्य ९ शहरहरु बिर्तामोड, दमक, इटहरी, बिराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल र काठमाण्डुमा पुगेर प्रेस भेट्घाटसहित स्टेज शो गर्नेछ । बिर्तामोडमा भने टिम असोज २५ गते आउने भएको छ । यहाँ विशेष साङगीतिक कार्यक्रम हुने भएकोछ ।

 

कार्यक्रमको होस्ट अहिलेका चर्चित कमेडियन सुमन कार्कीले गर्नेछन् । ‘टलकजंग टुल्के’, ‘जात्रा’ र ‘जात्रै जात्रा’ जस्ता सफल चलचित्र निर्माण गरेको चर्चित ब्यानर षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म ‘महापुरुष’ मा मदनकृष्ण र हरिवंशसँगै रविन्द्रसिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय रहेकोछ ।

 

रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्। फिल्म कात्तिक ११ गते भाइटीकाको भोलिपल्टबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।