स्वास्थ्य

झापामा डेङ्गुबाट परिवार नियोजन अधिकृतसहित २ जनाको मृत्यु

By admin

October 11, 2022

झापा । स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित झापामा दुई जनाको डेङ्गु संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भद्रपुर झापाका परिवार नियोजन अधिकृत भद्रपुर ७ सरस्वती टोल निवासी ५७ वर्षीय शशिकुमार भट्टराईको डेङ्गु संक्रमणबाट मृत्यु भएको हो ।

 

श्रीमतीलाई उपचार गराउन काठमाडौं गएका भट्टराईलाई त्यही डेङ्गु संक्रमण भएको र उपचारका क्रममा सोमबार बिहान निधन भएको स्वास्थ्य कार्यालयका अर्का अधिकृत बालकृष्ण भण्डारीले बताए । उनले सुगर र मुटुको समस्या भएका भट्टराईलाई डेङ्गुले संक्रमित बनाएको बताए ।

 

राजधानीमा निधन भएका भट्टराईको त्यही अन्त्येष्टि गरिएको भट्टराई कुल वंश प्रतिष्ठानका धर्मेन्द्र भट्टराईले बताए । उनी कुलवंश प्रतिष्ठान झापाका निवर्तमान उपाध्यक्ष रहेका थिए ।

 

त्यस्तै बिर्तामोड ३ निवासी एक महिलाको आज (मंगलबार) बिहान बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंको सरस्वती क्याम्पसको लाइब्रेरी शाखामा कार्यरत ५२ वर्षीया निशा छेत्रीलाई डेङ्गुको लक्षण देखिएको केही दिनपछि फूलपातीको दिन झापा घर ल्याई अस्पताल भर्ना गरिएको थियो ।

 

पारिवारिक स्रोतका अनुसार कलेजो र मिर्गौलाले काम गर्न छाडेपछि छेत्रीको आज बिहान निधन भएको हो । छेत्रीका छोरा र छोरी दुवै जना विदेशमै रहेको र भोलिसम्म छोरा मनिष बस्नेत आएर अन्तिम सँस्कार गरिने उनका मामा दिपक गोदार थापाले जानकारी दिए ।