राजनीति

बिर्तामोडका कुमार भट्टराईसहित ५ जना कांग्रेसद्वारा कारबाही

By admin

October 12, 2022

बिर्तामोड । नेपाली कांग्रेसको नीतिविपरीत गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि बिर्तामोड निवासी कुमार भट्टराईसहित पाँच जनालाई नेपाली कांग्रेस पार्टीले कारबाही गरेको छ ।

 

नेपाली कांग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नं २ प्रदेश ‘क’ समितिले पार्टी नीतिविपरीत गठबन्धनका साझा उम्मेद्वारविरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो ।

 

त्यसैगरी प्रदेश ‘क’ मै प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिने क्रियाशील सदस्यहरु राजु प्रसाई र उनका समर्थक पर्शुराम भट्टराई एवं कमल सिटौलालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न नगर र प्रदेश समितिको संयुक्त बैठकले जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो ।

 

निर्वाचनको संघारमा पार्टी र गठबन्धन दलका उम्मेद्वारका विरुद्ध अभिब्यक्ति दिने, सामाजिक सञ्जालको दुरुपयोग गर्ने, संगठनको हितविपरीत गतिविधिमा संलग्नहरुको अभिलेख राखेर कडा कारबाही गर्न बैठकले जिल्ला समितिलाई अनुरोध गरेको छ ।

 

नगरका कार्यवाहक सभापति सूर्य कन्दङ्वाको सभापतित्व र प्रदेश सभापति लक्ष्मी आचार्यको समन्वयमा बैठक सम्पन्न भएको थियो ।

 

कांग्रेस केन्द्रीय समितिको परिपत्र एवं गठबन्धन दलको निर्णयानुसार नेपाली कांग्रेस पार्टी एवं गठबन्धन दलको भागमा परेका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा बागी उम्मेद्वारी दिएकाहरुलाई कारबाही गर्न सिफारिस गरेको हो ।