बिर्तामोड । आसन्न मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले आदिवासी, जनजातिको हक र अधिकारका लागि कटिबद्ध रहेको साझा प्रतिबद्धता जाहेर गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा साझा उम्मेद्वार रहेका हरिकुमार रानाले आदिवासी तथा जनजातिले उठाउँदै आएका मुद्दाहरुको सुनवाई गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
रानाले आदिवासी जनजातिको हक, अधिकार र पहिचानका लागि प्राथमिकताका साथ काम गर्ने दाबी गरे । आफू विजयी भएको खण्डमा आदिवासी र जनजातिहरुको सांस्कृतिक, धार्मिकसहित पुनर्उत्थानका लागि काम गर्ने बताए ।
नेपाल आदिवासी जनजाति महासंघ झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको आदिवासी जनजातिहरुको अधिकार सम्बन्धमा उम्मेद्वारहरुको धारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अन्तरक्रियामा नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य पदमा झापा २ (क) बाट उम्मेद्वार रहेका एकराज कार्की र प्रदेश (ख) बाट उम्मेद्वार बनेका चिन्तक पाठकले पनि आ–आफ्नो धारण राखेका थिए । उनीहरुले पनि आफ्नो मुद्दा र पहिचानलाई आत्मसात गर्दै देश विकासकामा लाग्ने धारणा राखेका थिए ।
त्यस्तै कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र नं २ (ख) बाट साझा उम्मेद्वार बनेका खगेन्द्र मैनाली, लोसपाबाट झापा २ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार त्रिनारायण राजवंशी, प्रदेशसभा सदस्य पदका उम्मेद्वार शिव आचार्य, जसपाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रामसुफत कामती, मालेका प्रदेशसभा सदस्य पदका उम्मेद्वार बासुराम पौडेल र दुर्गा दाहाललगायतले आ-आफ्नो भनाइ राखेका थिए ।
सोही अन्तरक्रिया कार्यक्रमका बीच किरात राई यायोक्खा झापा अध्यक्ष गणेश राई र महासंघका उपाध्यक्ष केवलराम राईको टोलीले साथै मेचे शिवियारी आफतले उपस्थित उम्मेद्वारहरुलाई ज्ञापनपत्र समेत बुझाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका झापा सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए ।
महासंघ झापा अध्यक्ष पाण्डपलाल चौधरीको अध्यक्षता तथा इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण पत्रकार दिपिन राईले गरेका थिए ।