राजनीति

गठबन्धनका उम्मेद्वार रानाले भने, ‘सुकुम्बासीका विषयमा प्रष्ट छु, ढुक्क हुनुस्’

By admin

November 06, 2022

अर्जुनधारा । झापा क्षेत्र नं. २ का लागि गठबन्धनका साझा उम्मेद्वार हरिकुमार रानाले सुकुम्बासी समस्या समाधानको बाटो अर्जुनधारा नगरपालिकाले कोरिदिएको दाबी गरेका छन् । चुनाव प्रचार अभियानअन्तर्गत अर्जुनधाराको मदनपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अर्जुनधारामा ७ हजार २ सय अव्यवस्थित सुकुम्बासी प्रमाणका लागि नगरले वडामार्फत लगत उठाइसकेको हुँदा अब आउने सरकारले त्यही लगतमार्फत सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न सजिलो हुने बताए ।

 

अर्जुनधारा क्षेत्रको जनजीवन आफूलाई राम्रोसँग थाहा भएको हुँदा अव्यवस्थित, असुरक्षित र प्रमाण बेगर भोगचलन गर्दै बसेका ७ हजार २ सय परिवारबाट संकलित ५ हजार नगरपालिकामा सुरक्षितसँगै भोगचलनको रेकर्ड रहेको हुँदा नडराउन उनले आम जनतामाझ आग्रह गरे ।

 

चुनाव नजिकिदै जाँदा सुकुम्बासीका विषयलाई विपक्षी मित्रहरुले अनर्गल प्रचार गरेकोप्रति दुःख लागेको भन्दै सुकुम्बासीको लगत संकलन र रकम लिने निर्णय त्यसबेला सबै दलको सहयोगमा नगरपालिकाको बोर्ड मिटिङले सर्वसम्मत गरेकोले अन्याथा नसम्झिन पनि उनले आग्रह गरे ।

 

यसअघि जोतभोग कसले कति गरेको थियो ? अर्जुनधारामा रेकर्ड थिएन । कम्तिमा १० वर्षदेखि गर्दै आएको भन्ने प्रमाण जुटेको हुँदा अनर्गल प्रचारमा नलाग्न अनुरोध गरे । उम्मेद्वार रानाले भने, क्षेत्र नं २ खोलानाला, हात्तीले दुःख दिएको र कृषकले समयअनुसार सिँचाई गर्न नपाएर उब्जनी कम भएको क्षेत्र हो । त्यतिमात्र होइन, असहाय, गरिबीले ढाकिएको क्षेत्र हो । मेरो जीवन सामाजिक क्षेत्रमै बितेको हुँदा सबै कुरा मैले मसिनो रुपबाट हेरेको छु । आउने मंसिर ४ को निर्वाचनमा मत दिएर विजय गराइदिन आग्रह गरे । उनले विजयपछि पनि यहाँहरुकै घरआँगनमा रहनेछु भन्दै बाचा पनि गरेका छन् ।

 

कार्यक्रममा क्षेत्र नं २ ‘ख’ का उम्मेद्वार खगेन्द्र मैनालीले युवाले देश हाँक्नसक्ने क्षमता बनेको हुँदा क्षेत्रको विकासमा आफ्नो सदैव मन जाने बताउँदै विजय गराउन आग्रह गरे । कार्यक्रममा खेम काफ्ले, नेपाली कांग्रेसका नेता दिपक तामाङ, राजकुमार बराइली, नविन ढुंगना, नेकपा माओवादीका सरु, समाजवादीका अर्जुन मेचे लगायतका नेताहरुको सहभागिता थियो ।