राजनीति

जनता झुक्याउने दललाई कठघरामा उभ्याउन जनमुक्तिको माग

By admin

November 13, 2022

झापा । जनता झुक्याउने दललाई अब अदालतको कठघरामा उभ्याउनुपर्ने माग राष्ट्रिय जनमुक्ति पार्टीले अगाडि सारेको छ । विगतमा अनेक आशा र प्रतिवद्धता जनाउँदै मत लिएर नागरिकको हितमा दलहरुले काम गर्न नसकेको भन्दै ‘अब राइट टु कोर्ट’अन्तर्गत जनता झुक्याउने दललाई अदालतमा उभ्याउनुपर्ने माग राखेको हो ।

 

झापाको अर्जुनधारास्थित शनिश्चरे बजारको देवकोटा चोकमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै वक्ताहरुले लोकतान्त्रिक गणतन्त्रमा जनताले पाउनुपर्ने नैसर्गिक अधिकारमाथि हनन् गर्नु भनेको नश्लीय चरित्रको राज भएको बताउँदै जनतालाई भोकमरी, महंगी र विदेशी ऋणको भार नबोकाउनु जनमुक्ति पार्टी जनताको घर आँगनमा चुनाव चिन्ह घर लिएर आएको बताएका छन् ।

 

पार्टीका केन्द्रीय सचिव गजेन्द्र आङ्बुहाङले ठूला दललाई मत दिएर भ्रष्टाचारको दल–दलमा मुलुकलाई फसाएको आरोप लगाउँदै जनताको अधिकारलाई कटौती गरेको हुँदा आउँदो मंसीर ४ को चुनावबाट ठूला दललाई किनारा लगाउन जनतामा अनुरोध गरे ।

 

झापा क्षेत्र नं. ३ का उम्मेदवारसमेत रहेका आङ्बुहाङले चुनावको समयमा विभिन्न वाचा राख्दै, आशा देखाउँदै मत माग्ने अनि विजयी भएपछि वेवास्ता गर्नाले त्यस्ता ढाँट प्रवृत्तिलाई दोहो¥याएर मत दिए नेपाली जनताले अझ दुःख पाउने सुनाए ।

 

कार्यक्रममा प्रदेश १ समानुपातिक उम्मेदवार मिना पन्धाकले भ्रष्टाचारी चरित्र पालेका दललाई मत दिए देशले दुःख पाउने बताउँदै देश बचाऔं, देश बनाऊ भन्ने नारा लिएर जनमुक्ति घर-आँगनमा आएको सुनाइन् ।

 

पार्टी क्षेत्रीय अध्यक्ष खड्ग चेम्जोङको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र नं. २ ‘क’ का उम्मेदवार पार्वता माङ्मू, नगर अध्यक्ष राज खम्बू, महिला नेतृ रीना मगर लगायतले सम्बोधन गरेको पार्टी नगर सचिव आरती तेयुङले बताइन् । कार्यक्रमको सञ्चालन भने उपाध्यक्ष तेजबहादुर योङहाङले गरेका थिए ।