इलाम । इलाम क्षेत्र नम्बर १ मा मतपेटिकाको शीलको विषयमा विवाद भएपछि गए रातिदेखि स्थगित भएको मतगणना कार्य अझै सुरु हुन सकेको छैन । राति १२ बजेदेखि स्थगित मतगणना कार्यलाई सुचारु गराउन दलहरुबीच सहमतिको प्रयास जारी रहे पनि अझै सहमति भइनसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एउटा मतपेटिका खोलिसकेपछि प्रदेशसभाका एक उम्मेदवारले रुजु नगराई मतपेटिका खोलिएको भन्दै मतगणना कार्य अस्वीकार गरेपछि गणना कार्य रोकिएको निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।
‘मतपेटिका खोल्नअघि उम्मेदवारका प्रतिनिधिलाई राखेर रुजु गराइने गरिएको छ । त्यो मतपेटिकालाई पनि रुजु गराएकै हो तर उम्मेदवारले रुजु नगरी मतपेटिका खोलियो भन्दै विवाद निकाल्नुभयो’, दाहालले भने, ‘विवादपछि स्थिति खलबलियो, पुनः दलका प्रतिनिधिबीच छलफल गराउने पटक–पटक प्रयास गरियो सहमति भएन तर, अझै हामी सहमतिको प्रयास गरिरहेका छौँ । आजदेखि मतगणना जारी हुन्छ ।’
इलाम क्षेत्र नम्बर १ मा अहिलेसम्ममा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ । अहिलेसम्ममा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ८ हजार ७ सय ८० मत प्राप्त भएको छ ।
खनाल नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतभन्दा १ हजार ५ सय ७ मतले पछि छन् । बस्नेतले १० हजार २ सय ८७ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । गाेरखापत्रबाट