राजनीति

केपी ओली छैटौं पटक विजयी

By admin

November 23, 2022

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।

 

बुधबार सम्पन्न मतगणनामा ओलीले ५२ हजार ३१५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४१ मतमात्र पाए । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संग चुनावी तालमेल गरेको थियो ।

 

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए । ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए ।

 

ओली ०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं ७ बाट पराजित भएका थिए । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं ७ बाट निर्वाचित भएका थिए । राज्य पुर्नसंरचनापछि साविकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ ।

 

झापा ५ बाट ०७४ उनी सर्वाधिक मतका साथ निर्वाचित भएका थिए । १ लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको यो क्षेत्रमा ९८ हजार ९८७ मत खसेको थियो । कुल सदर मत ९३ हजार ८७० हुँदा ५ हजार ११७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।