अन्तराष्ट्रिय

ब्राजिल र क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा

By admin

December 06, 2022

एजेन्सी । विश्वकप फुटबलमा दक्षिण कोरियालाई ४-१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

 

ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए ।

 

त्यस्तै जापानलाई पेनाल्टी शुटआउटमा हराउँदै क्रोएसिया विश्वकप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । कतारको अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुटआउटमा ३-१ ले हरायो ।

 

यसअघि जापानका लागि खेलको ४३ औँ मिनेटमा डेजन मायदाले गोल गरे । क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

 

पेनाल्टीमा जानु अघि खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो । क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके ।

 

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाए । अब क्रोएसियाले क्वाटरफाइनलमा ब्राजिलसँग खेल्नेछ ।