समाज

लगातारको बाक्लो हुस्सु कुहिरोले जनजीवन प्रभावित

By admin

January 05, 2023

झापा । चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटेको छ भने लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले मध्य तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् ।

 

नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन । दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ।

 

दुई घण्टाभन्दा बढी घाम नलागे, बिहान बेलुका आकाशबाट शीत चुहिए, अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसले घटे र न्यूनतम तथा अधिकतम तापक्रमबीचको अन्तर धेरैले घटेपछि शीतलहरको घोषणा गर्ने गरिएको मौसमविद् समिर श्रेष्ठले बताए ।

 

मध्य तराईमा न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्ममा झरेको छ । अहिले तराईका जिल्लासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका ठाउँमा अहिले लागेको हुस्सु केही घण्टापछि हट्दै जाने र घाम लाग्ने मौसमविद् श्रेष्ठले बताए ।

 

तर, तराईका जिल्लामा भने दिउँसोसम्म नै हस्सु कुहिरो लाग्ने अनुमान छ। काठमाण्डौको न्यूनतम तापक्रम आज ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो हिजोकोभन्दा एक डिग्री सेल्सियसले कम हो ।

 

काठमाण्डौ, भक्तपुर, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर यसैबीच, काठमाण्डौ उपत्यकासहित देशभर प्रदूषण बढेको छ । पानी नपर्दा धुवाँधुलो बढेको छ । यसले गर्दा वायू प्रदूषण दिनहुँ बढिरहेको छ ।

 

हावाको गुणस्तर सूचक मापन एअर क्वालिटी इन्डेक्सको अघि बिहान पौने ८ बजेको डाटा अनुसार भक्तपुर, काठमाण्डौ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर छ । काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५३ रहेको छ । यस्तै, भक्तपुरको १५४, तुलसीपुरको १०८ र धनकुटाको १०६ रहेको छ ।

 

एक्यूआई सूचकाङ्क एक सयदेखि १५० सम्म पुग्नुलाई बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा १५० भन्दा माथि एक्यूआई पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ ।

 

एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ ।