अर्थ बजार

अर्जुनधारामा बेमौसमी खेतीदेखि एसी बनाउनेसम्म ‘सात’ तालिम

By admin

January 05, 2023

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले सामाजिक विकास शाखामार्फत एकसाथ सात तालिमको उद्घाटन गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त तालिमको उद्घाटन नगर प्रमुख बलदेव गोम्देनले गरे ।

 

सामाजिक विकास समितिको निर्णयबमोजिम नगरमा एसी, फ्रिज रिपेरिङ, वाइरिङ, व्याग झोला बनाउने, कफी मेकर, क्रिस्टलको चुरा बनाउने, बेमौसमी सब्जी खेती, लोकसेवा आयोग तयारी कक्षासम्बन्धि तालिमको आयोजना गरिएको शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।

 

नगरमा रहेका कृषकहरुलाई खेती गर्ने तरिकाबारे जानकारी दिन, घरमा त्यसै समय व्यतित गरिबसेका महिला दिदीबहिनीलाई झोला, चुरा बनाउने तालिममार्फत आत्मनिर्भर बनाउन र बेरोजगार अदक्ष युवा शक्तिलाई प्राविधिक ज्ञान दिँदै आम्दानीको बाटोतर्फ डोहोर्याउन तालिम सञ्चालन गरिएको खड्काले बताए ।

 

उनका अनुसार तालिमको संयुक्त उद्घाटन गरिए पनि भोलिबाट छुट्टाछुट्टै स्थानबाट तालिम प्रदान गरिने बताइएको छ । उद्घाटन सत्रमा नगर प्रमुख गोम्देनले तालिमबाट प्राप्त ज्ञानलाई सही सदुपयोग गर्न आग्रह गर्दै नगर समृद्ध बनाउन चुनावताका गरिएको प्रतिवद्धता पूरा गर्दै लगिएको बताए ।

 

उनले नगरलाई स्वरोजगार र आत्मनिर्भर बनाउन यस्ताखाले तालिमको सञ्चालन गरेको हुँदा एकै व्यक्तिले मात्र तालिमको लाभ नलिई पालो प्रणालीबाट तालिममा सहभागि हुनुपर्नेमा जोड दिए । नगर समृद्ध बनाउन विकास निर्माणमात्र नभएर नगरबासीलाई सक्षम बनाउनु पनि भएको भन्दै उनले व्यक्ति स्वरोजगार बनेको खण्डमा नगर आफैँ समृद्धतर्फ जाने भनाइ राखे ।

 

कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुलीले तालिमलाई केवल तालिमको रुपमा नलिइ जीवन उपयोगी बनाउनुपर्ने बताइन् । उनले सक्रिय सहभागिता जनाएरका उपलब्धीमुलक बनाउन प्रशिक्षार्थीलाई आग्रह पनि गरेकी छन् ।

 

प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले नगरबासीको आत्मविश्वास बढाउन र समग्र नगरको विकासका लागि क्षमता अभिवृद्धिका तालिमहरुको आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रम प्रभावकारी बने आगमी दिनमा अझ बढी तालिम सञ्चालन गर्दै जाने बताइन् । उनले तालिममा ठुलो रकम खर्च हुने भएकाले नगरको उद्देश्य पूरा गर्न प्रशिक्षार्थीले दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिइन् ।

 

६५ दिनसम्म चल्ने एसी, फ्रिज रिपेरिङ तालिममा २५ जना, ३२ दिनसम्म हुने वाइरिङसम्बन्धि तालिममा २५ जना, मेडपा एडभान्स तालिमअन्तर्गत व्याग झोला बनाउने, कफी मेकर, क्रिस्टलको चुरा बनाउने र बेमौसमी खेतीसम्बन्धि तालिममा जम्मा ४९ जनाको सहभागिता रहनेछ ।

 

त्यस्तै १०० दिनसम्म सञ्चालन हुने लोकसेवा आयोग तयारी कक्षामा ५५ जनाको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा स्वागत सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले गरेका थिए भने सञ्चालन कर्मचारी पुष्पा पौडेलले गरेकी थिइन् ।