शनिश्चरे । झापा जिल्लाकै पुरानो विद्यालयमध्येको एक शनिश्चरे माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवनको शनिबार उद्घाटन गरिएको छ । विद्यालयको ७५औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले भवनको उद्घाटन गरेका हुन् ।
शनिश्चरे मावि २००५ सालमा स्थापना भएको थियो । आयोगका सदस्य सचिव भण्डारी यसै विद्यालयका विद्यार्थी हुन् । उनले २०३९ सालमा यसै विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए ।
उनकै पहलमा आयोगको विशेष अनुदानबाट ९ कोठाको ३ तले भवन बनेको हो । आयोगको अनुदानबाट प्राप्त ९३ लाख ९१ हजार ५५८ रुपैयाँ ७१ पैसामा भवन निर्माण सम्पन्न भएको विद्यालयका शिक्षक पुण्य सुवेदीले जानकारी दिए ।
वार्षिकोत्सवकै अवसरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न दाताबाट स्थापित छात्रवृत्ति वितरण, विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान र वर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा रहेको विद्यालयमा सांगीतिक कार्यक्रम पनि गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायत पूर्व प्रधानाध्यापक, शिक्षक, समाजसेवीलगायतको आतिथ्यता रहेको थियो । विद्यालयको प्रतिवेदन तथा स्वागत प्रधानाध्यापक चेतामणि खनालले गरेको कार्यक्रममा शिक्षक चन्द्रकला सुवेदी दाहाललाई वर्ष उत्कृष्ट शिक्षकका रुपमा सम्मान तथा पुरस्कृत गरिएको थियो । उनलाई नगद ५ हजार प्रदान गरियो ।
सोही कार्यक्रममा छत्र थापा स्मृति अक्षयकोष र लोकनाथ-हेमकला अक्षयकोषका तर्फबाट भद्रबहादुर बुद्ध, लक्ष्मी ओली र सबिना अधिकारीलाई २०७७ सालको छात्रवृत्ति प्रदान गरियो । यस्तै २०७७ सालको खगेन्द्र-विभा अक्षयकोषको तर्फबाट भद्रबहादुर बुद्ध, लक्ष्मी ओली र रुद्र तोरण पुरस्कारबाट स्वप्निल नयन सुवेदी, डोल्मा शेर्पालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
२०७८ को छत्र थापा स्मृति अक्षयकोष रोशन खनाल, निश्मा खतिवडा, लोकनाथ-हेमकला अक्षयकोषका तर्फबाट एलिना न्यौपाने, प्रनिशा पुरी, खगेन्द्र-विभा अक्षयकोषको तर्फबाट एलिना न्यौपाने र प्रनिशा पुरी, रुद्र तोरण पुरस्कारबाट स्वप्निल नयन सुवेदी, सपना आलेलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
वार्षिकोत्सव कार्यक्रममा वडाध्यक्ष, पूर्व शिक्षक, पूर्व विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए ।