बिर्तामोड । झापाको बिर्तामोडमा रहेको गज्जबको इन्टरटेन्मेन्टले युट्युव प्लेटफर्ममार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्दैछ ।
गाउँ समाजमा लुकेर रहेका प्रतिभाको खोजी गर्दै उनीहरुलाई स्थापित गराउने उद्देश्यले झापा युट्युव स्टार २०२२ सञ्चालनको तयारी थालिएको हो । युट्युवमार्फत प्रतिभाको खोजी गरिएको नेपालमै पहिलोपटक भएको आयोजकको दाबी छ ।
गज्जबको इन्टरटेन्मेन्टले फागुन २३ र २४ गते पब्लिक राउण्डको कार्यक्रम गर्न लागेको सोमबार बिर्ताबजारस्थित कार्यालयमा पत्रकार भेटघाट गरी जानकारी दियो । गत असोज महिनाबाट प्रतियोगिताका लागि अडिसन राउण्ड शुरु गरिएको इन्टरटेन्मेन्टका प्रबन्धक दिप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताका लागि फागुन ३० गतेसम्म भिडिओ प्रतियोगिता रहने छ । कार्यक्रममा झापा जिल्लाभारका ३ सय प्रतिभाहरुले सहभागिता जनाउने बताउँदै उनले प्रतियोगितामा नृत्य, गायन, अभिनय साथै विभिन्न किसिमका १५ विधामा कलात्मक प्रस्तुतिलाई समावेश गराइने बताए ।
दुई दिनसम्म सञ्चालन हुने पब्लिक राउण्डमा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने बताइएको छ । प्रतियोगिताले समुदायमा रहेका लोपोन्मुख संस्कार, संस्कृति र कलाको उजागर गर्ने अपेक्षा गरिएको गज्जवको इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक सुस्मिता गुरुङले बताइन् ।
उनका अनुसार झापाको ९ वटा पालिकाबाट प्रतियोगी सहभागी छन् । अर्जुनधारा, बिर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायत पालिकाका प्रतियोगी सहभागी रहेका छन् ।