राजनीति

राजनीतिक व्यक्तित्व कुन्दन भट्टराईको ‘स्मृतिग्रन्थ’ लोकार्पण

By admin

May 06, 2023

बिर्तामोड । कोभिडका कारण ज्यान गुमाएका झापा अर्जुनधाराका राजनीतिक व्यक्तित्व कुन्दन भट्टराईको बारेमा प्रकाशित कुन्दन भट्टराई स्मृतिग्रन्थ शनिबार बिर्तामोडमा लोकार्पण गरिएको छ ।

 

नेकपा एमाले पार्टी झापाका प्रभावशाली नेता एवम् तत्कालिन् अर्जुनधारा गाविसका अध्यक्ष कुन्दन भट्टराईको जीवनीमा आधारित पुस्तक ‘कुन्दन भट्टराई स्मृतिग्रन्थ’ नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा शिक्षा विभाग प्रमुख गुरु बरालको प्रमुख आतिथ्यमा लोकार्पण गरिएको हो ।

 

कुन्दन भट्टराई स्मृतिग्रन्थ सम्पादन समितिका संयोजक कमल गुरागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बराल, प्राज्ञ सुमित्रा वाङदेल “चेली”, साहित्यकार पुण्यप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लीला उदासीलगायतले उक्त पुस्तकको संयुक्तरुपमा लोकार्पण गरेका थिए ।

 

लोकतन्त्र, जनताको हित र समाज रुपान्तरणको लागि २०४० सालदेखि नै कम्युनिष्ट कार्यकर्ताको रुपमा आन्दोलनमा संलग्न भएका भट्टराईबारेको ६३ वटा लेख पुस्तकमा समेटिएको छ । लेखहरुलाई समयको नजरमा, भट्टराई कुलवंश प्रतिष्ठानको नजरमा, प्राज्ञका नजरमा, पत्रकारका नजरमा, साथीभाइका नजरमा र परिवारका नजरमा शीर्षक दिइएको छ ।

 

४२८ पृष्ठको पुस्तकको परिशिष्ट खण्डमा कुन्दन भट्टराईका रचनाहरु स्मृतिग्रन्थमा समावेश गरिएको छ । कविताहरु, गीतहरु, कथाहरु, निबन्धहरु, वैचारिक लेखहरु, प्रतिवेदनात्मक लेखहरु, भूगोल परिचय र कुन्दनका चिनारी रहेका छन् ।

 

सम्पादन समितिका सदस्य भानुभक्त भट्टराईले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रममा साहित्यकार पुण्यप्रसाद खरेल र मेची बहुमुखी क्याम्पसका प्राडा गंगाप्रसाद अधिकारीले पुस्तकको समिक्षा गरेका थिए । प्राडा अधिकारीले भट्टराईको साहित्यिक पाटोलाई समावेश नगरिँदा स्मृतिग्रन्थ पूर्ण हुन नसकेको औँल्याएका थिए ।

 

सोही कार्यक्रममा भट्टराईका काकी रेनुका भट्टराई र मामा मदन दाहाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा पार्टी झापाका अध्यक्ष दीपक कार्की, प्राज्ञ सुमित्रा वाङदेल “चेली”, भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटी, भट्टराईका साथी सीएम क्षेत्रीलगायतले उनको योगदानको चर्चा गरेका थिए ।

 

भट्टराई पत्नी विष्णुमाया भट्टराईले धन्यवाद व्यक्त गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव सावित्रा दाहाल भट्टराईले गरेकी थिइन् । विसं २०१४ साल कात्तिक २७ गते आमा चन्द्रमाया र बुबा छत्रपति भट्टराईको जेठा छोराको रुपमा भारतमा जन्मिएका उनको २०७७ साल कात्तिक २८ गने निधन भएको थियो । उनी फोक्सोको क्यान्सरबाट पनि पीडित थिए ।