कला

झापामा बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

By admin

June 16, 2023

झापा । उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले बिहीबार ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको १२० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गरेका छन् ।

 

उनले ८,८४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण गरे । आदर्श मावि इँटाभट्टाको प्राङ्गणमा भएको सो प्रदर्शनीमा जातजातिको मौलिक पहिरन लगाएका १५६ जनाले ‘यो हो बुद्धको देश नेपाल’ बोलको गीतमा सामूहिक नृत्य गरेका थिए ।

 

नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान दिलाउने बुद्ध र सगरमाथालाई उपयोगी कलामार्फत विश्वभर प्रचार गर्न प्रदर्शनीको आयोजना गरिएको कार्यक्रमका संयोजक एवं कलाकर्मी लामाले बताए ।

 

उनले शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको विषयमा विश्वमञ्चमा प्रचार अझै आवश्यक रहेको जनाउँदै सगरमाथाको उचाइलाई मदिराको नाममा प्रयोग गरिएकामा आपत्ति प्रकट गरे । मदिराको नाम ८,८४८ राखिएकोमा साङ्केतिक विरोध जनाउँदै आठ हजार आठ सय ४८ वर्ग इञ्चको बुद्ध चित्र प्रदर्शन गरिएको उनको भनाइ थियो ।

 

उपयोगी चित्रकला विधाअन्तर्गत कोरिएको १२० फिट लामो चित्र बोकेर मेचीनगरका सयौँ विद्यार्थी र कलाप्रेमीको र्यालीले स्थानीय बजार परिक्रमा गरेको थियो । मेचीनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशीले नेपाललाई विश्वव्यापीरूपमा चिनाउन कलाकार लामाले गरेको प्रयास प्रशंसायोग्य भएको बताए ।

 

कलाकर्मी लामाले प्रदर्शनीमा राखिएको बुद्ध चित्र र उपयोगी कलालाई बुद्ध जन्मस्थल लुम्बिनीमा पुर्याएर प्रदर्शनी गर्ने लक्ष्य रहेको बताएका छन् ।