अन्तराष्ट्रिय

बंगलादेशसँग नेपाल बन्याे सिरिज च्याम्पियन

By admin

July 16, 2023

झापा । वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै सिरिज पनि जितेको छ ।

 

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा नेपाल ४-२ ले विजयी भयो । यसअघि पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो ।

 

दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा अन्जनाले दुई पेनाल्टी प्रहार बचाएकी थिइन् । उनी ९०औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

 

नेपालका लागि टाइब्रेकरमा सावित्रा भण्डारी र हिरा भुजेलले सुरुवाती दुई प्रहारमा गोल गरिन् । बंगलादेशका सम्सुन्नाहारले पहिलो प्रहार गोल गर्दा गोलरक्षक अन्जना राना मगरले शेउली अजीमको दोस्रो प्रहार विफल पारिन् ।

 

नेपालका लागि अन्जना रानामगरको तेस्रो प्रहार पोस्टमा लागेर गोल नहुँदा उनले मारिया मान्डाको प्रहार विफल पारिन् । दिपा शाहीले गरेको चौथो प्रहार नेपालको लागि गोल भएको थियो । बंगलादेशका लागि मोनिका चक्माले चौथो प्रहारमा गोल गरिन् । अनिता केसीले पाँचौ प्रहारमा गोल गर्दै नेपालको जित पक्का गरिन् ।

 

नेपाल र बंगलादेशले पहिलो मैत्रीपुर्ण खेलमा १-१ को बराबरी गरेका थिए । गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३-१ ले पराजित भएको थियो।