बिर्तामोड । बिर्तामोड नगरपालिका ७ विरानस्थित कंचन इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी विद्यार्थी र अभिभावक लाभान्वित भएका छन् ।
मनमोहन हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरबाट स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न नसक्ने ग्रामीण क्षेत्रका विद्यार्थी र अभिभावकहरुले भरपूर लाभ लिएका हुन् । शिविरमा ५०४ जना विद्यार्थी र अभिभावकले चेकजाँच गराएको विद्यालयका फाउन्डर प्रिन्सिपल दीपक चम्लागाईले बताए ।
विद्यार्थीहरु विरामी भइरहेकाले नियमित कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनले बताए । शिविरमा मनमोहन हस्पिटलका बालरोग विशेषज्ञ डा वरुण अग्रवालको नेतृत्वमा १३ जनाको स्वास्थ्यकर्मीहरुको टोलीले चेकजाँच गरेको थियो । टोलीमा डा आरजु सुनुवार, डा अजाज आचार्य, दुईजना हेल्थ असिस्टेन्टलगायतले सेवा दिएको विद्यालयका संस्थापक तथा एकाउन्टेन्ट डिल्लीराम चम्लागाईले बताए ।
उनले मनमोहन हस्पिटलसंग सहकार्य गरेर प्रत्येक वर्ष विद्यालयमा स्वास्थ्य शिविर गर्दै आएको जानकारी दिए । त्यस्तै मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर पनि आयोजना गरिएको उनले बताए । शिविरमा निःशुल्क औषधि वितरणसमेत गरिएको थियो ।
२०६४ सालमा स्थापना भएर कक्षा १० सम्म अध्ययन भइरहेको त्यस विद्यालयमा ५४० जना विद्यार्थी छन् । विद्यालय ग्रामीण क्षेत्रमा रहे पनि भौतिक पूर्वाधारले सम्पन्न ३ वटा भवनमा २७ वटा कोठा रहेका छन् । विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरेको अर्का संस्थापक तथा सहप्रधानाध्यापक बद्री बास्कोटाले बताए ।