अर्थ बजार

सिम्रिक साकोसद्वारा २ पत्रकारसहित ७ जना सम्मानित

By admin

October 07, 2023

बिर्तामोड । झापा बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दुई जना पत्रकारसहित सात जनालाई सम्मान गरेको छ । संस्थाले १३औं वार्षिक साधारणसभाअन्तरगत मुल माइन्यूट प्रमाणित सभाका अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

 

पत्रकार लक्ष्मी उप्रेती र युवराज विवश (पौडेल)लाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । यसैगरी, संस्थाले झापाको धुलाबारी सेवाकेन्द्रकी अन्जु प्रधान, इलामस्थित नेपालटार सेवाकेन्द्रका तीर्थराज सुवेदी र मोरङको लेटाङ सेवाकेन्द्रका मोहन घिमिरेलाई उत्कृष्ट कर्मचारी घोषित गर्दै जनही नगद २० हजारसहित सम्मान गरेको छ ।

 

त्यस्तै उत्कृष्ट बचतकर्ताका रुपमा शनिश्चरे सेवा अन्तरगतका मित्र घिमिरेलाई नगद ५ हजार र स्वेच्छिक अवकाश सम्मानअन्तरगत दुर्गा पौडेललाई नगद २ लाख २५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

 

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी पवित्रा महतरा प्रसाईले सम्मानित ब्यक्तित्वहरुलाई सम्मान गरेकी थिइन् ।

 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य केशव बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका जोखिम विभाग प्रमुख प्रेम बस्नेत (विजय)ले गरेका थिए ।

 

झापामा २७, इलाममा १२, मोरङमा १० र पाँचथरमा एउटा सेवा केन्द्र गरी ५० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको संस्थाले गत असोज ७ गतेदेखि साकोसका सेवा केन्द्रमा इकाईगत साधारणसभा शुरु गरेको थियो ।

 

आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्ममा ५९ हजार २६३ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ३१ करोड ७६ लाख ५८ हजार ६ सय रुपैयाँ रहेको अध्यक्ष भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

 

संस्थाले यसवर्ष ५ करोड ७९ लाख २८ हजार ३३४ रुपैंयाँ नाफा गरेको जनाइएको छ । २०६७ साल चैत ३ गते स्थापना भएको संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति गरेको छ ।

 

संस्थाका अध्यक्ष सुवास भट्टराईले आर्थिक मन्दीले तरलता संकुचन भएको कारण लक्षित उपलब्धी हासिल गर्न नसकिए पनि संस्थाले आफ्ना सबै सेयर सदस्यलाई ६.८३ प्रतिशत शेयर बोनस वितरण गर्ने तथा सक्रिय कारोबारी सदस्यलाई ९२ लाख ११ हजार ७२१ रुपैयाँसंरक्षित पुँजी फिर्ता गर्ने प्रस्ताव प्रतिवेदनमार्फत जानकारी दिएका छन् ।

 

संस्थाले बितेको एक वर्षमा मात्रै सामाजिक उत्तरदायित्व अन्तरगत सदस्य र समुदायको लागि १ करोड ६३ लाख २६ हजार ३७५ रुपैयाँ खर्च गरेको अध्यक्ष भट्टराईले बताए ।

 

संस्थाका कार्यकारी प्रमुख बस्नेतले सदस्य तथा तिनका परिवारलाई जन्मदेखि मृत्युसम्ममा हरेक कार्यमा सिम्रिक साकोसले सहयोग गर्दै आएको जानकारी दिए ।