खेलकुद

आर्मीसँग मच्छिन्द्र झापा गोल्डकपमा स्तब्ध

By admin

March 06, 2024

बिर्तामोड । झापाली मैदानमा भाग्यमानी सावित हुँदै आएको त्रिभुवन आर्मी एफसी जारी छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चार पटकको विजेता आर्मी उपाधिको दाबेदार टोली मच्छिन्द्र एफसीलाई पहिलो चरणमै रोक्यो ।

 

१-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै आर्मीले मच्छिन्द्रमाथि बाजी मारेर झापाली समर्थकको मन फेरि जित्न सफल भएको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्रमाथि २-१ गोलअन्तरको जित दर्ता गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

 

खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन् ।

 

तर, खेलको ६१औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्यायो । स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । आर्मीका तर्फबाट ८१औँ मिनेटमा बसन्त जिम्बाले निर्णायक गोल गरे ।

 

पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीनजना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए । उनी खेलकोे प्लेयर अफ दी म्याच बन्दै नगद ११ हजार पाउन सफल भए ।

 

जितसँगै झापा गोल्डकपको चारपटकको विजेता आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । पराजयसँगै मछिन्द्र यो सिजनमा उपाधि ह्याट्रिक गर्नबाट बञ्चित भएको छ । मछिन्द्रले लगातार केपी ओली कप र बागमती गोल्डकपको उपाधि हात पारेको थियो ।

 

देवेन्द्र तामाङ, विमल घर्तीमगर, आयुश घलान, हिसुब थपलिया, विशाल श्रेष्ठ, छिरिङ गुरुङसहित विदेशी खेलाडी मैदान उतारेको मच्छिन्द्रको हारसँगै समर्थक निराश बनेका थिए ।

 

आर्मीका प्रशिक्षक मेघराज केसीले देशका महत्वपूर्ण गोल्डकपको सूचीमा झापा गोल्डकप भएकाले यो गोल्डकप गुमाउने चाहना आर्मीले नराखेकोले जित्ने रणनीतिका साथ मैदानमा उत्रिएर सफल हुन सकेको प्रतिक्रिया दिए । पछिल्लो चरणमा आर्मीले नयाँ र पुराना खेलाडीलाई मिश्रण गरेर खेलाउने गरेको भन्दै उनले नयाँ र पुरानो खेलाडीबीचमा तालमेल मिल्दा जित सम्भव भएको बताए ।

 

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि मिडफिल्डर र डिफेन्डरको सानो गल्तीका कारण खेलमा पराजय भएको बताए ।

 

१० टोली सहभागी गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । १ करोड ४० लाख खर्च हुने अनुमान गरिएको गोल्डकपमा झापा ११ एफसीले बिहीबार एन्फा मकवानपुरसँग अन्तिम क्वार्टरफाइनल खेल खेल्नेछ ।