इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत पाएर विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत पाए । २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यसपटक नेम्वाङ पुत्र सुहाङले ५ हजार ८३० मतान्तरले हराएका छन् ।
‘जितको सम्पूर्ण श्रेय मेरा इलामेली जनता र मेरो पार्टी नेकपा एमालेलाई दिन चाहन्छु’, जितपछि मतदाताहरुलाई धन्यवाद दिँदै सुहाङले भने, ‘पार्टीले अवसर र जनताले भोट नदिएको भए यो जित सम्भव थिएन ।’
२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार थिए, पहिचानवादी नेता डकेन्द्रसिं थेगिम । उनले ११ हजार ४५७ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत पाए । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३८० मत पाएका थिए । लिम्बू पुरानो मत संख्यालाई थोरै सुधार्ने बाहेक केही गर्न सकेनन् ।
निर्वाचन कार्यालय, इलामका अनुसार इलाम २ मा फाकफोकथुमका ७, चुलाचुली र माङसेवुङका ६-६, माई नगरका ३, देउमाईका ९ र इलाम नगरको वडा नम्वर १० बाहेकका ११ वटा वडा सम्मिलित छन् । कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेको यो क्षेत्रमा करिव ६९ हजार २ सय ८७ मत खसेको थियो । इकान्तिपुरबाट