बिर्तामोड । सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन झापाको बिर्तामोडमा वैशाख २३ गते आइतबार हुने भएको छ ।
आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशीका अनुसार ३०औं संस्करणको मिस नेपालका लागि क्षेत्रीय अडिसन बिर्तामोडको होटल सिद्धार्थमा आयोजना गर्न लागिएको छ ।
यसअघि भरतपुर, वीरगन्ज, नेपालगन्ज, पोखरा र सुर्खेतमा अडिसन सकिएको, इटहरी र भैरहवामा अडिसन बाँकी रहेको उनले जानकारी दिए । युवाले आफ्नो देशलाई कस्तो बनाउने भन्नेमा भूमिका निर्वाह गर्न र आफ्नो क्षमता प्रस्तुत गर्ने उत्तम प्लेटर्फमको रुपमा मिस नेपाल रहेकाले युवतीहरुलाई प्रतियोगितामा सहभागी हुन मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधानले आग्रह गरिन् ।
प्रतियोगितामा सहभागी हुन ५ फिट ३ इन्च उचाई भएको, कक्षा १२ पास भएको र १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित युवतीहरुले आवेदन दिनसक्ने निर्देशक राजवंशीले जानकारी दिए । आवेदन निःशुल्क दिन सकिने उनले बताए ।
मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले अवसर खोजी गर्ने र राष्ट्र निर्माणका लागि युवतीहरुले कस्तो भूमिका खेल्न सकिन्छ भन्ने खोजी गर्न सकिने उपयुक्त प्लेटफर्म मिस नेपाल रहेको बताइन् ।
मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९ गते गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा हुने द हिडन ट्रेजरका निर्देशक राजवंशीले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक डाबर बाटिका रहेको छ ।