स्वास्थ्य

बीएण्डसीमा विपन्न उपचार कोषमार्फत हेड तथा स्पाइनल इन्जुरी सेवा सुरु

By admin

May 19, 2024

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु भएको छ ।

 

नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बीएण्डसी अस्पतालले शुक्रबारदेखि सुचारु गरेको जानकारी दिएको हो । अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीसहित चिकित्सकहरूले विपन्न नागरिक औषधि कोष अन्तरगतका सेवाका बारेमा पत्रकारहरूलाई जानकारी दिएका छन् ।

 

उक्त कार्यक्रम अन्तरगत नेपाली नागरिकले मात्र सेवा पाउने व्यवस्था रहेको छ । सेवा पाउनका लागि डाक्टरले बिरामीको सूचीकृत गरेर रोगबारेको प्रमाणपत्र जारी गरेपछि आफ्नो स्थानीय तहको स्वास्थ्य शाखा अन्तरगतको प्रमुख प्रकाशकीय अधिकृत, स्थानीय तह प्रमुख, स्वास्थ्य शाखा प्रमुखको एक समिति हुने र सो समितिको सिफारिस आवश्यक पर्नेछ ।

 

स्थानीय तहको समितिले सिफारिस गरेर अस्पताललाई पठाएपछि त्यसको आधारमा अस्पतालले सेवा दिने अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार दुर्घटनासम्बन्धी भने उपचार भइसकेको हुने र पछि डकुमेन्ट ल्याउन सकिने पनि व्यवस्था छ ।

 

कोही पनि विपन्न नागरिक उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गरिएको हो । बीएण्डसीमा एक लाख रुपैयाँसम्मको हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उक्त कार्यक्रम अन्तरगत एक लाख रुपैयाँसम्मको सेवा अस्पतालबाट लिन पाइनेछ ।

 

विपन्न नागरिक औषधि उपचार कोष अन्तरगत एक लाखभन्दा कम उपचार खर्च भए त्यो रहने र बढी भए त्यसलाई बिरामीले बेहोर्नु पर्ने गिरीले बताएका छन् ।