अन्तराष्ट्रिय

कुवेत आगलागीमा झापाका दोर्जे लामाले हाम्फालेर ज्यान जोगाए

By admin

June 13, 2024

झापा । कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । यो आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । मृत्यु हुने श्रमिकहरुको पहिचान भइसकेको छैन ।

 

आगलागी भएको भवनबाट हाम्फालेर झापाका दोर्जे लामा र सिरहाका शिवशंकर पासवानले ज्यान जोगाएका हुन् । हाल उनीहरु स्थानीय आदान अस्पतालमा उपचाररत छन् । हाम्फालेर भाग्दा घाइते भएकामध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।

 

जसमा शिवगञ्ज झापाका दोर्जे लामा, सिरहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् । लामा, मण्डल र पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोटी र जाकिरलाई अस्पतालमा भर्ना गरिएको छैन ।

 

‘आगलागी हुँदा हामी दुई तलामाथि थियौं । भुँईतलाबाट आगलागी भयो । धुवाँको मुस्लोले कोठा भरियो’, नेपाली दूतावासका अधिकारीहरुसमक्ष लामाले भने, ‘कोठामा लुगा सुकाउने डोरी थियो । त्यो डोरीबाट विस्तारै बिस्तारै तल झर्यौ ।’

 

पासवानले आफूहरु तल्लो तलामा रहेकोले बाँच्न सफल भएको बताए । ‘म तल्लो तलामा नै थिएँ । धुवाको मुस्लो आएपछि ढोकाबाट बाहिर आउने अवस्था भएन । क्याम्पको झ्याल फोरेर भाग्न सफल भयौं,’ पासवानले भने । उनीहरुलाई भेट्न नेपाली दूतावासका प्रथम सचिव सुजन बिडारी र श्रम सहचारी गिरी आचार्य अस्पताल पुगेका थिए ।

 

कुवेतको एनविटिसी कम्पनीमा कार्यरत श्रमिकहरु वस्ने क्याम्पमा आगोलागी भएको थियो । कुवेत सरकारले आगोलागीमा परी मृत्यु भएको राष्ट्रियता पहिचान गरिसकेको छैन ।