अन्तराष्ट्रिय

भद्रपुरका चन्द्र लिम्बू मलेसियामा अलपत्र, स्वदेश फर्काइदिन अपिल

By admin

June 28, 2024

झापा । वैदेशिक रोजगारका लागि मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र परेका छन् । २३ वर्षअघि मलेसिया पुगेका लिम्बु स्वदेश फिर्ताका लागि सबै समक्ष हारगुहार गरिरहेका छन् । लिम्बू सन् २००१ मा मलेसिया गएका थिए । उनी विगत १४ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् ।

 

आफ्नो स्थायी ठेगाना तत्कालीन महेशपुर गाविस १ रहेको उनी बताउँछन् । साबिक महेशपुर १ हाल भद्रपुर नगरपालिका ३ पर्छ । ‘काममा जाँदा डायरी र फोन सबै हरायो’, उनले भने, ‘अहिले बिरामी छु, एक, दुई बाल्टी पानी बोक्न पनि सक्दिनँ ।’ अवैधानिक रुपमा मलेसियामा बसेकाले फर्किन समस्या भएको उनको भनाइ छ ।

 

‘परिवारसँग सम्पर्क नभएको धेरै भयो’, उनले भने, ‘घर फर्किन पैसा पनि छैन, मलाई उद्धार गरेर नेपाल फर्काइदिन सबैसँग अनुरोध गर्दछु ।’ लिम्बूले आफ्नो श्रीमतीको नाम भूमिका लिम्बू, जेठो छोराको नाम कृष्ण र कान्छो छोरा विष्णु लिम्बू भएको बताए ।

 

मलेसियाको सेलेङ्गर केलाङमा काम गर्दै आएका नेपाली युवा रोहण थापा क्षेत्रीले उनलाई बिरामी अवस्थामा फेला पारेपछि हाल सँगै राख्दै आएका छन् । ‘नेपाली भएको नाताले मनले मानेन, बिरामी भेटेपछि ल्याएर राखेको छुु’, रोहणले भने, ‘मैले पनि यसरी राख्न मिल्दैन, सकेसम्म चाँडो उद्धार गरेर नेपाल फर्काउन पाए हुन्थ्यो ।’