राजनीति

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति !

By admin

July 02, 2024

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमति’को सरकार बनाउने सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली र डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति भएको नेताहरुले बताएका छन् । स्रोतका अनुसार निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि भएको छ ।

 

आयोगले दिने सुझावका आधारमा संविधान संशोधन गर्ने र राजनीति स्थायित्व हुने गरी निर्वाचन प्रणाली सुधार गर्ने नेताहरुको भनाइ छ । सहमतिअघि देउवा र ओलीले राति नै राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए । कांग्रेस र एमालेबीच सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटन हुने निश्चित भएको छ ।

 

नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि शृंखलाबद्ध छलफल भइरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

 

एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको दाबी छ ।