अन्तराष्ट्रिय

एसिया कपमा नेपालको पहिलो जित

By admin

July 19, 2024

झापा (एजेन्सी) । सम्झना खड्काको अर्धशतकमा नेपालले श्रीलंकामा शुक्रबार सुरु महिला एसिया कप क्रिकेटमा यूएईलाई ६ विकेटले पराजित गरेको छ । सम्झनाले अविजित ७२ रन बनाएपछि नेपालले ११६ रनको लक्ष्य १६.१ ओभरमै ११८ रन बनाउँदै पूरा गरेको थियो ।

 

नेपालले एसिया कपको इतिहासमै पहिलो विजय हात पारेको हो । सन् २०१२ र २०१६ मा ट्वान्टी-२० संरचनामा भएका दुवै संस्करणको एसिया कपमा नेपालले एउटै खेल जित्न सकेको थिएन र सबै ८ खेलमा पराजित भएको थियो ।

 

सम्झनाको इनिङ्स नेपाली महिला खेलाडीको एसिया कपमा पहिलो अर्धशतक पनि हो । सम्झनाले पनि ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएकी हुन् । गतवर्ष हङकङविरुद्ध मलेसियामा एसीसी प्रिमियर कपमा अविजित ३६ रन बनाउनु यसअघिको उनको उच्च स्कोर थियो ।

 

३५ बलमा अर्धशतक पूरा गरेकी सम्झनाले ४५ बल खेली ११ चौका प्रहार गरिन् । उनले नै विजयी चौका प्रहार गरेकी थिइन् । नेपालको सुरुआत राम्रो थिएन् । सीता रानामगर १७ बलमा ७, कविता कुँवर १० बलमा २, कप्तान इन्दु बर्मा १० बलमा ६ र पूर्व कप्तान रुविना क्षेत्री ८ बलमा १० रनमा आउट भएकी थिइन् ।

 

तर सम्झनाको एकल प्रयासमा नेपालले सानदार विजय हात पारेको हो । उनलाई साथ दिने क्रममा पुजा महतो ७ बलमा ७ रन बनाई अविजित रहिन् । यूएईबाट कभिषा इगोडागेले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिइन् । लाभान्य केनीको नाममा १ विकेट रहयो ।

 

यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले दम्बुलास्थित रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ८ विकेट गुमाई ११५ रन बनाएको थियो । प्रिमियर कप विजेता यूएईबाट खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । ३९ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । काभिषाले २६ बलमा २२, समइरा धर्निधर्काले १३ र कप्तान इशा ओजाले १० रन बनाइन् ।

 

नेपालबाट इन्दुले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई र कृतिका मरासीनीले १-१ विकेट लिइन् । समूह ‘ए’ मा रहेको नेपालले अब जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतविरुद्ध खेल्नेछ ।