अन्तराष्ट्रिय

बंगलादेशी प्रधानमन्त्रीले देश छाडिन्, अन्तरिम सरकार गठनको घोषणा

By admin

August 05, 2024

झापा (एजेन्सी) । बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् । उनी भारतको त्रिपुरा राज्य पुगेकी छन् ।

 

आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी हुन् । यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको छ ।

 

यसैबीच, प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडेलगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।

 

‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्ु उनले भनेका छन् ।

 

ढाका ट्रिब्युनका अनुसार उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरेका छन् ।