अन्तराष्ट्रिय

चर्च ब्वाइज भुटानको पारोसँग पराजित

By admin

August 13, 2024

काठमाडौं। चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कपअन्तर्गत प्रारम्भिक छनोटबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा पारो एफसीसँग २-१ गोलअन्तरले पराजित हुँदै चर्च ब्वाइज छनोटबाट बाहिरिएको हो।

 

पारो एफसीसँग २-१ गोलअन्तरले पराजित हुँदा पारोको जितमा किङ्गा वाङ्चुक र विलियम ओपकुले गोल गरे। यस्तै, चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गरेको गोल सान्त्वना बन्यो।

 

३९औं मिनेटमा लाकेन लिम्बूले चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाए। मोसेस टुमले मिलाइदिएको पासमा उनले गोल लाइन नजिकबाट गरेको प्रहार गोलमा परिणत भयो। एक मिनेट पनि नबित्दै किङ्गा वाङ्चुङले गोलरक्षक दीप कार्की बिट भइसकेको अवस्थामा गोल गर्दै खेल बराबरीमा ल्याए।

 

६७औं मिनेटमा ओपकुले पुनः पारोलाई अग्रता दिलाए। कुपिकले क्लिअर गरेको बललाई डिफेन्डर करिमले नियन्त्रणमा लिन नसकेपछि ओपकुले सीधै प्रहार गरेको बलले जाली चुम्यो।

 

निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा चर्च ब्वाइजले अर्को मौका बुनेको थियो। तर, मेसेसले पेनाल्टी बक्सबाट उक्त मौका गुमाए। योसँगै चर्च ब्वाइजको समूह चरणमा पुग्ने आशा समाप्त भयो।