राजनीति

वाइसीएल अर्जुनधाराको अध्यक्षमा अर्जुन लिम्बू

By admin

August 28, 2024

शनिश्चरे । योङ कम्युनिष्ट लिग (वाइसीएल अर्जुनधाराको अध्यक्षमा अर्जुन लिम्बू लिङलेखु चयन भएका छन् । आज सम्पन्न नगर कमिटीको दोस्रो सम्मेलनले अर्जुन लिम्बूको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

 

सो सम्मेलनले लिम्बूसहित ५१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा पृथ्बी लिम्बू, सचिवमा दीपक गहतराज, सहसचिवमा कमल अधिकारी र कोषाध्यक्षमा श्रेया लावती सर्वसम्मत चयन भएका छन् ।

 

वाइसीएल अर्जुनधाराका अध्यक्ष विपिन चौहानको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य हरिकुमार रानाको बिशिष्ट आतिथ्य रहेको थियो ।

 

कार्यक्रममा तामाङले आगामी निर्वाचनमा माओवादी देशकै सबैभन्दा ठूलो पार्टी हुने दाबी गरे । ‘माओवादी अब फुट्दैन, जति फुट्नु थियो फुटिसक्यो’ नेता तामाङले भने ‘पार्टीमा केही समस्या होला तर पार्टी नेतृत्वले समाधान गर्छ ।’

 

उनले अब फेरि भ्रष्टचार, समाजमा हुने विसंगति, गुण्डागर्दी रोक्न वाइसीएलको ‘भाटे कार्यक्रम’ ब्यूँताउने उद्घोष गरे । उनले समाजलाई सकारात्मक मार्गमा डोहोर्याउन वाइसीएलले भाटे कार्यक्रमसहित मोसो दल्ने, सामाजिकरुपमा कारबाही गर्ने बताए ।

 

अर्का केन्द्रीय सदस्य रानाले सामान्तवादी राज्य सञ्चालकले जहिले पनि चेपुवामा पार्ने गरेको बताए । उनले भष्ट्राचारी र घुसखोरीलाई संरक्षण गरेको जिकिर गर्दै त्यस्ता राज्य सञ्चालकलाई ठिक पार्न पनि माओवादी पार्टीको आवश्यकता रहेको उल्लेख गरे ।

 

सम्मेलनमा स्वागत वाइसीएल झापाका उपाध्यक्ष हिमाल बिष्टले गरेका थिए भने वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी (कर्मा), वाइसीएलका कोशी प्रदेश संयोजक कुमार आचार्य, अनेमसंघ क्रान्तिकारी झापाकी अध्यक्ष तारा श्रेष्ठ, माओवादी अर्जुनधारा नगर अध्यक्ष नरकुमार तामाङ (नारद दुखी)लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वाइसीएल अर्जुनधाराका सचिव समिर लिम्बूले गरेका थिए ।

 

सोही कार्यक्रमकाबिच बिभिन्न पार्टी परित्याग गरी ५० जनाभन्दा बढीले माओवादीमा प्रवेश गरेका थिए । अन्य पार्टी परित्याग गरी माओवादी प्रवेश गर्नेलाई केन्द्रीय सदस्य तामाङ, राना, वाइसीएल केन्द्रीय सचिव कर्मालगायतले स्वागत गरेका थिए ।