झापा (एजेन्सी) । गत सोमबार अमेरिकारको ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेको संदिग्ध हत्यारा पक्राउ परेका छन्।
स्थानीय समयअनुसार प्रहरीले बुधबार बिहान संदिग्ध हत्याराको फुटेज सार्वजनिक गरेपछि साँझ ती व्यक्ति पक्राउ परेका हुन्। बुधबार साँझ करिब आठ बजेतिर ट्राफिक स्टपेजमा ती व्यक्ति समातिएका स्थानीय सञ्चारमध्यमले जनाएका छन्।
ह्युस्टन पुलिस डिपार्टमेण्टले सार्वजनिक गरेको विवरणअनुसार संदिग्ध व्यक्ति ५१ वर्षीय बबि सिंह साह हुन्। आरोपित हत्याराले के कति कारणले गोली हानेर मुनाको हत्या गरेको भन्ने खुलिसकेको छैन्। प्रहरीले अनुन्धान गरिरहेको छ।
प्रहरीले बुधबार मुना पाण्डेको हत्यामा संलग्न संदिग्धको क्लोज सर्किट (सीसी) टिभी फुजेटमा देखिएको तस्वीर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो ।
यसको २४ घन्टा नबित्दै प्रहरीले साहलाई नियन्त्रणमा लिएको हो । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति साह नै थिए ।