राजनीति

लोकबन्धु कन्दङवासहित सयौँ माओवादी केन्द्रमा प्रवेश

By admin

September 15, 2024

बिर्तामोड । पुराना वाम बुद्धिजीवीका रुपमा परिचित लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिर्तामोडमा आयोजित कार्यक्रममा कन्दङवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

 

राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा कन्दङवाको नेतृत्वमा करिब २ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् ।

 

उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए । त्यसपछि एकीकृत समाजवादीमा लागेका थिए । कन्दङवासँगै सामाजिक अभियन्ता गोपाल मुखिया पनि प्रवेश गरेका छन् ।

 

यसैगरी, एमाले जिल्ला सदस्यहरु मोहन योगी, सीता रणपहेली, जगत राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला सदस्य वीरेन्द्रकुमार याक्थुङवा, जनता समाजवादी पार्टीका प्रदेश सदस्य मणि राई, झापा विद्रोहका सहिद परिवार नरेन्द्र घिमिरेलगायत करिब २ सय जना पार्टी प्रवेश गरेको जनाइएको छ ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।