भेडेटार (धनकुटा)। सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ डाँडा बजारस्थित ध्वजे डाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ ।

 

समुद्र सतहबाट २०४७ मिटरको उचाइमा रहेको यो डाँडो महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत यस क्षेत्रको दोस्रो अग्लो डाँडा हो । खासगरी यो मौसममा सूर्योदयको मनोरम दृश्य हेर्न आसपासका पर्यटक यहाँ पुग्ने गरेका छन् । अन्तु र ध्वजेडाँडा दुवै ठाउँ पुग्ने पर्यटक सूर्योदयको दृश्य अन्त र यहाँबाट उस्तै देखिने बताउँछन् ।

 

यहाँबाट सूर्योदयसहित पूर्वका अधिकांश जिल्ला, तराईको फाँट, विभिन्न पर्वत शृङ्खला देख्न सकिने स्थानीय सुनिता लिम्बू बताउँछिन् । घाम झुल्कनुअघि हिमालमा देखिने रङ्गिन दृश्यले सबैलाई मोहित पार्ने उनको भनाइ छ ।

 

सूर्योदय हेर्न पछिल्लो समय दैनिक हजारौँ पर्यटक इलामको अन्तु पुग्ने गरेका छन् । पर्यटकीय सिजनको बेला त अन्तमा पाइलासमेत राख्ने ठाउँ हुँदैन । तर, अन्तुसँग तुलना गरिने धनकुटाको डाँडा बजारस्थित ध्वजे डाँडामा भने पूर्वाधार र प्रचारप्रसार अभावका कारण निक्कै कम मात्र पर्यटक पुग्ने गरेका छन् ।

 

पूर्वको पर्यटकीय नगरी भेडेटारबाट १३ किलोमिटर पूर्व तथा धनकुटाको डाँडा बजारबाट १ किलोमिटरमाथि पर्यटकीयस्थल ध्वजे डाँडा रहेको छ । गोरखापत्रबाट