काठमाण्डौ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । अहिले कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परेको छ ।
दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आजदेखि आउँदो आइतबारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
महाशाखाले विशेष बुलेटिन निकालेर आइतबार बिहानसम्म सातवटै प्रदेशमा आरीघोप्टे पानी पर्ने चेतावनी दिएको हो । यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् रेड अलर्टमा राखेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिमका एक, दुई ठाउँमा भने अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।