काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउॅंदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० ले पराजित गरेको हो ।

 

दोस्रो चरणमा स्थान बनाउने पाँचौ टोली बन्ने क्रममा कोशीका लागि समिक्षा मगरले २ तथा ममता राउत र खुश्मा राईलेले समान १-१ गोल गरे । खेलको २३औं मिनेटमा गोल गर्दै ममता राउतले कोशीलाई अग्रता दिलाइन् । समिक्षाले ४१औं र ६४औं मिनेटमा गोल गर्दै कोशीको अग्रता ३-० को बनाइन् ।

 

खुश्माले ६४औं मिनेटमा गोल गर्दै कोशीको दोस्रो चरणको यात्रा पक्का गरिन् । कोशीको पहिलो चरणको समाप्तिमा ९ खेलबाट १४ अंक भएको छ । समान खेलबाट सुदूरले अंकविहीन रुपमा यस सिजनको यात्रा सकाएको छ ।

 

आज नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिकाले अर्को चरण प्रवेश गरेको छ । चन्द्रपुरलाई वालिङले २-१ ले पराजित गरेको हो ।

 

दोस्रो चरणमा स्थान बनाउने चौथो टोली बन्ने क्रममा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरिन् । चन्द्रपुरका लागि भने सुनिता सुनारले गोल गरिन् ।

 

दोस्रो चरणमा तीन विभागीय टोलीहरु नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा वालिङ नगरपालिका र कोशी प्रदेशले प्रवेश गरेका छन् । पहिलो चरणको‌ अन्तिम ३ खेल बाँकी रहँदा दोस्रो चरण पुग्ने ५ टोलीको टुंगो लागेको हो ।