झापा । नेपालमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।
मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।
गत असोज २७ गते नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।
बितेको दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको मौसमविदको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा दिउँसाे र राति हल्का वर्षाको सम्भावना छ ।