काठमाडौं । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे सुरु हुनेछ।
अघिल्लो संस्करणमा पनि भुटानले आफ्नो पहिलो खेलमा नेपालको सामना गरेको थियो। उक्त खेलमा नेपाली गोल मेसिन सावित्रा भण्डारी र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४-० ले विजयी भएको थियो।
अहिलेसम्म भएका चार भेटमा भुटानविरुद्ध नेपाल अपराजित छ। यो यात्रालाई निरन्तरता दिने नेपाललाई मौका छ। तर, घरेलु दर्शकको बलियो साथ पाए पनि भुटानविरुद्ध नेपालले पहिलाझैं बलियो प्रदर्शन गर्न सकेको छैन।
सावित्रा र अनिताले समान दुई गोल गरेकी थिइन्। सावित्रा शुक्रबार भुटानविरुद्ध हुने खेलमा उपस्थित हुने छैनन्। फ्रान्सेली क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी उनी आइतबारमात्रै नेपाल ओर्लिनेछिन्। उनको स्थानमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले रश्मिकुमारी घिसिङलाई आक्रमणको जिम्मेवारी दिने सम्भावना छ।
रश्मि एन्फा महिला लिगको पहिलो चरणको सर्वाधिक गोलकर्तासमेत हुन्। उनले ९ खेलमा १८ गोल गरेकी थिइन्। सावित्राको स्थानमा आफूले मौका पाए उत्कृष्ट प्रदर्शन गर्ने उनले बताएकी छन्।