खेलकुद

साफ महिला: नेपाललाई रोक्दै भुटानले रच्यो इतिहास

By admin

October 18, 2024

काठमाडौं। गोलकिपर संगीता मोंगेरको उत्कृष्ट प्रदर्शनले साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालविरुद्ध भुटानले इतिहास रचेको छ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले दर्जन अवसर बनाए पनि गोलमा परिणत गर्न सकेन। फलतः नेपाल साफ इतिहासमै पहिलोपल्ट भुटानसँग गोलरहित बराबरीमा रोकिन पुग्यो। नेपालले यसअघिका चार भेटमा भुटानमाथि सहज जित हासिल गरेको थियो।

 

अघिल्लो संस्करणमा भुटानले आफ्नो पहिलो खेलमा नेपालको सामना गरेको थियो। उक्त खेलमा नेपाली गोल मेसिन सावित्रा भण्डारी र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४-० ले विजयी भएको थियो।

 

समूह बी अन्तर्गत नै आज भएको पहिलो खेलमा श्रीलंकाले माल्दिब्सलाई १-० ले हराएको थियो । यस नतिजाले श्रीलंका ३ अंकका साथ समूहको शीर्षस्थानमा छ । नेपाल र भुटान १-१ अंकसहित दोस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ ।