अन्तराष्ट्रिय

श्रीलंकको पोस्टमा नेपालको ६ गोल, सेमिफाइनलमा भारतसँग खेल्ने

By admin

October 24, 2024

काठमाडौं। नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंकामाथि प्रभावशाली जित निकाल्दै नेपाल सातौंपल्ट सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई नेपालले ६-० को जित हासिल गरेको हो। योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो।

 

भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११-० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३-० को जित निकालेको थियो।

 

नेपालले अन्तिम चारमा अर्को समूहको उपविजेता भारतसँग खेल्नेछ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराए पनि बंगलादेशसँग ३-१ ले पराजित भएको थियो। यस्तै, नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ।

 

नेपाललाई अघिल्लो चरणमा पुर्‍याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल थपे। सविता प्लेयर अफ दी म्याच बनिन् ।