शनिश्चरे । झापाको अर्जुनधारा १ मा रहेको खुदुनाबारी अर्जुनधारा खानेपानी सरसफाई तथा उपभोक्ता समितिको नेतृत्व पहिलोपल्ट निर्वाचन प्रणालीबाट चयन हुने भएको छ ।

 

समितिको कार्यालयमा आज पहिलोपल्ट निर्वाचन सम्पन्न भएको छ । तीनवर्षे कार्यकालका लागि निर्वाचनमा अध्यक्षका उम्मेद्वार केदार पराजुली र विष्णु प्रसाईले आफ्ना प्यानल खडा गरेर प्रक्रियामा अघि बढेका हुन् ।

 

२०५१ सालमा स्थापना भएको यस समितिमा कुल २ हजार ४१२ जना मतदाता संख्या रहेको छ । जसअनुसार अर्जुनधारा १ मा सर्वाधिक ८७९ जना, २ मा ३०८ जना, ४ मा ८२७ तथा अर्जुनधारा ५ र ७ मा ४३० जना मतदाता रहेका छन् ।

 

निर्वाचन समितिका सदस्य सचिव तिवेन्द्र काफ्लेका अनुसार २ हजार १३ मत खसेको छ । बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदानको गणना साँझ ५ बजेबाट भएको सदस्य सचिव काफ्लेले जानकारी दिए । १३ सदस्यीय समितिका लागि २६ जनाको उम्मेद्वारी परेको छ ।

 

स्थापनाको ३० वर्षपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो । निर्वाचनमा अर्जुनधारा १ बाट एक जना महिलाले स्वतन्त्र उम्मेद्वारी दिएकी छन् भने अर्जुनधारा ४ बाट सहसचिवमा स्वतन्त्र उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी शिवाकोटीले जानकारी दिए ।

 

प्रसाई यसअघिको समितिको अध्यक्षमा रहिसकेका हुन् । पराजुलीले तेस्रो पटक नेतृत्वका लागि सहमतिको प्रयास गरेको बताइन्छ । दुवै प्रत्यासी नेकपा एमाले निकट हुन् । तर, प्रसाईलाई पार्टीले उम्मेद्वारी नदिएपछि नेपाली कांग्रेससँगको तालमेलमा उम्मेद्वारी दिएको बताइएको छ ।

 

पार्टीको निर्णयविपरीत प्रसाईले उम्मेद्वारी दिएपछि एमाले अर्जुनधारा नगर कमिटीले एक वर्षका लागि निलम्बन गर्दै कारबाही गरेको विज्ञप्तिमार्फत जनाएको छ ।