खुदुनाबारी । झापाको अर्जुनधारा २ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहद्वारा अवैध ढंगले कटान गरिएको सखुवाको गोलिया प्रहरीले मंगलबार बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वनका अध्यक्ष खगेन्द्र कोइरालालगायतको टोलीले कटान आदेशबिना सखुवा जातको रुख कटान गरी गोलिया बनाई लोड गर्दै गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

 

बरामद गरिएको स्थानबाट अन्दाजी १०३ क्युफिट काठ लोड भएको अवस्थामा मे १ त ६११ नम्बरको ट्याक्टरलाई फेला पारिएको जनाइएको छ । ट्याक्टर र गोलिया नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको प्रहरीले जनाएको छ ।

 

सामुदायिक वनको जङ्गल क्षेत्र ब्लक नम्बर ३ र ४ अन्तर्गत रहेको ठूलो गुन्द्रुके खोल्सीमा कटान आदेशसमेत नलिएको अवस्थामा रूख ढाली ढुवानी गरिरहेको जानकारी आएपछि नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाइएको युवा संघ नेपाल अर्जुनधाराका अध्यक्ष धिरज मोक्तानले बताएका छन् ।

 

युवा संघका अध्यक्ष मोक्तान, उपाध्यक्ष सुशील भुजेल, सहसचिव युकेश फुयाललगायत स्थानीय उपभोक्ताहरूले सामुदायिक वनको ट्रयाक्टरलाई नियन्त्रणमा लिएका थिए ।

 

यसैबीच, सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले आफूहरुले अनुमतिको प्रक्रिया अपनाए पनि सामान्य त्रुटि भएको स्वीकार गरेका छन् । वनका सचिव नरेन्द्र गौतमले रुख कटान तथा निकासीको आदेशलाई कानुनीरुपमा पूरा नगरिएको प्रतिक्रिया दिएका छन् ।