बिर्तामोड । बिर्तामोडको यातायात व्यवस्था कार्यालयबाट ९ जना विचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड प्रहरीले दुई महिलासहित ९ जनालाई पक्राउ गरेको हो ।
विचौलियाका कारण सेवाग्राहीहरुले निकै दुःख पाएको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले नौ जना बिचौलियालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई महिलासहित ९ जना रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
उनीहरुलाई अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए । यसअघि विराटनगरमा रहेको यातायात व्यवस्था कार्यालयबाट विचौलिया पक्राउ परे पनि बिर्तामोडबाट पक्राउ परेको यो पहिलो घटना भएको बताइएको छ ।
पक्राउ पर्ने विचौलियाहरुमा बिर्तामोड १ का सुरज आचार्य, तुलसी खतिवडा, गरिमा घिमिरे, सीता भेटवाल, रोशन आचार्य, बिर्तामोड २ का टंकप्रसाद राजवंशी, बिर्तामोड ३ का युवराज लिम्बू र कनकाई १ का दिवस राई रहेका छन् ।