झापा (एजेन्सी) । कप्तान साबित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनौटमा श्रीलंकालाई ८-० को फराकिलो अन्तरले हराएको छ। लगातरको दोस्रो जितमा नेपालले ६ अंक जोड्यो।
नेपालको जितमा साम्बाले ह्याट्रिकको सफलता प्राप्त गर्दा गीता रानाले २, तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान १-१ गोल गरिन्। उज्वेकिस्तानको राजधानी तास्केन्तको बुन्योदकोर स्टेडियममा खेल भएको थियो ।
खेलको सातौं मिनेटमा नेपालले गोलको खाता खोल्यो। अनिता बस्नेतको कर्नरमा गीता रानाको हेडरले सही दीशा लियो। खेलको २०औं मिनेटमा अग्रता दोब्बर बनायो । साम्बाले बक्स भित्रबाट गोल गरेकी हुन्।
खेलको ३६औं मिनेटमा कप्तान साम्बाले फ्रिकिकमा सिधै गोल गरिन्। तर, रेफ्रीले गोल दिएनन्। यसपछि ४२औं मिनेटमा रश्मी कुमारी घिसिङको कट ब्याकमा बक्स भित्रबाट साम्बाको उत्कृष्ट भलि गोलमा परिणत भयो। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरेकी हुन्। ६०औं खेलमा उनको यो ६४औं गोल हो।
खेलको ५३औं नेपाललाई पेनाल्टीको अवसर प्राप्त भएपछि गीता रानाले गोल गरिन्। खेलको ६२औं मिनेटमा नेपालका लागि निशा थोकरले हेडर गोल गरिन् ।
एकपक्षीय खेलको ७८औं मिनेटमा सब्स्टिच्युट पुजा रानाको क्रसमा अर्की सब्स्टिच्युट फर्वाड रेखा पौडेलको हेडरले जाली चुम्यो। नेपालले ७-० को स्पष्ट अग्रता बनायो। खेलको ८९औं मिनेटमा पुजाले बक्सभित्रबाट उत्कृष्ट गोल गरिन्। यो सँगै नेपालले ८-० को सहज जित दर्ज गर्यो।
लगातरको दोस्रो जितमा नेपालले ६ अंक बनाएको छ। अब नेपालले शनिबार समूहको अन्तिम तथा निर्णायक खेल घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ। नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो।
सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपको लागि ३४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । प्रत्येक समुहको विजेता छनौट हुनेछन्। आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।