झापा । झापा मेचीनगर नगरपालिका ४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा रहेका एक सडक मानवको मृत्यु भएको छ ।
हिजो भद्रपुर १० मा बेवारिसे रुपमा हिँडडुल गरिरहेको अवस्थामा तत्काल वतन नखुलेका ५० वर्षीय भुन्टे कुर्मी भनिने ब्यक्तिलाई भद्रपुर नगरपालिकाद्वारा उद्धार गरी मानव सेवा आश्रम बाहुनडाँगीमा राखिएको थियो ।
तर, आज दिउँसो ३ बजे आश्रममा सुतेको अवस्थामा उनको मृत्यु भएको हो । प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी सहायक निरीक्षक छबिहाङ शेर्माको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।
थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको कमाण्डमा प्रहरी टोली खटिएर शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । मृतक दुवै मिर्गौलासम्बन्धी बिरामी रहेको जानकारी प्राप्त भएको बताइएको छ ।