अन्तराष्ट्रिय

चारआलीमा इन्डो-नेपाल अन्तरविद्यालय कराते हुने, च्याम्पियनले १ लाख पाउने

By admin

August 02, 2025

मेचीनगर । झापाको मेचीनगरमा इन्डो-नेपाल अन्तरविद्यालय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

 

आज साँझ मेचीनगर १३ स्थित चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम इन्डो-नेपाल अन्तर विद्यालय खुला कराते च्याम्पियनसिपको तयारीबारे जानकारी दिएको हो ।

 

लागुऔषधबाट बालबालिकालाई टाढा राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकेडेमीका अध्यक्ष फुर्वा लामाले बताए । उनका अनुसार कराँते प्रतियोगितामा हालसम्मकै सर्वाधिक पुरस्कार राशि एक लाख र ट्रफी राखिएको छ । प्रतियाेगिता सम्पन्न गर्न २५ लाख खर्च हुने अनुमान गरिएकाे छ ।

 

प्रतियोगिताको प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रहनेछन् । त्यस्तै, प्रतियोगिताको मुख्य प्रायोजक एमडी कन्सल्टेन्सी रहेको लामाले बताए । काठमाडाैँ, पाेखरालगायत ठुला सहरका विद्यालयसँगै भारतकाे दार्जीलिङ, सिलिगुडीका विद्यालयबाट पनि खेलाडी सहभागी हुने अध्यक्ष लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेता विद्यालयले नगद एक लाख पाउँदा दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद २५ हजार रुपैयाँ पाउनेछ । उत्कृष्ट प्रशिक्षकले नगद १५ हजार पाउने छ । त्यस्तै, व्यक्तिगत पदक पाउने खेलाडीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

यही साउन २४ गते हुने च्याम्पियनसिपमा भारतका १५ विद्यालयसहित ५० वटा विद्यालयको सहभागिता टुंगो लागेको अध्यक्ष लामाले जानकारी दिए । लामाका अनुसार छात्रछात्रा दुई विधामा २० केजीदेखि ५५ केजी तौल समूहमा प्रतियोगिता हुनेछ । विद्यालयस्तरमै कराते खेललाई प्रोत्सहान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

 

पत्रकार सम्मेलनका बीच वरिष्ठ कराते प्रशिक्षक कालु मेचेले प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले पाउने ट्रफी अनावरण गरेका थिए । कार्यक्रममा स्वागत एकेडेमीका उपाध्यक्ष बद्री विष्टले गरे भने सञ्चालन सचिव विशाल घिसिङ तामाङले गरेका थिए ।