झापा (एजेन्सी) । आईसीसी टी-२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोमाञ्चक जीत निकालेको छ ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो । यूएईलाई अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा ३ विकेट गुमाएर १ रनमात्र जोड्न सक्यो ।
अन्तिम ओभरमा बलिङ गर्न आएका दीपेन्द्रले पहिलो ३ बलमा ७ रन दिएर चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए भने पाँचौँ बलमा हेदर अली र अन्तिम बलमा जाहिद अली रन आउट भए ।
यूएईका आलिशान शरफुले ५८, ध्रुव पराशरले ३२ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ३ तथा सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
यसअघि ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो । नेपालका आसिफ शेखले सबैभन्दा धेरै ४७ बलमा ५१ रन बनाए । यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले १-१ विकेट लिए ।
यो जीतसँगै नेपालले सुपर ६ मा २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ खेलमा ४ अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । यूएई २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ ।
सुपर ६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । नेपालले अब सुपर ६ मा भोलि कतारसँग खेल्नेछ । यस्तै नेपालले बुधबार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । सुपर ६ मा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।