खेजेनिम (ताप्लेजुङ) । फुङलिङ नगरपालिका ९ को नवप्रयास युवा क्लब हाङदेवा फक्ताङलुङ गाउँपालिका २ स्थित आहाले खेलमैदानमा जारी प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हाङदेवाको जितसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

 

आज भएको अन्तिम क्वाटरफाइनल खेलमा मेरिङ्देन गाउँपालिकाको प्रगतिशील युथ क्लब लिङ्तेपलाई २-० गोलअन्तरमा पराजित गर्दै हाङदेवाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

हाङदेवाका लागि दुवै गोल निश्चल मोक्तानले गरेका हुन् । खेलको ५६औँ मिनेटमा पहिलो गोल गरेका निश्चलले दोस्रो गोल ८१औँ मिनेटमा गरेर जित सुनिश्चित गरेका हुन् । उनी खेलको प्लेयर अफ दी म्याचहुँदै नगद २ हजार ५ सय पाउन सफल भए ।

 

भोलि (शुक्रबार) दुवै सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लब र मैवाखोला गाउँपालिकाको जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुले प्रतिस्पर्धा गर्नेछन् ।

 

यसैगरी, शुक्रबार नै हुने अन्तिम सेमिफाइनल खेलमा हाङदेवाले सिदिङ्वा गाउँपालिका ७ को लालीगुराँस युथ स्पोर्टिङ क्लब सुरूम्खिमसँग प्रतिस्पर्धा गर्नेछ । मानाभारा युथ स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल पुस १९ गते हुनेछ ।

 

प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपैयाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी पाउने छ । यसैगरी, अन्य विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ ।