ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका २ खेजेनिमस्थित आहाले खेलमैदानमा आयोजित प्रथम मानाभारा गोल्डकपबाट ५ लाख ३७ हजारभन्दा बढी बचत भएको आयोजकले जनाएको छ ।
मानाभारा युथ स्पोर्टिङ क्लबले गत पुस १५ गतेदेखि १९ गतेसम्म गोल्डकपको आयोजना गरेको थियो । रामेछापको एक टिमसहित जिल्लाका ८ वटा टोली गोल्डकपमा सहभागी थिए ।
आयोजक क्लबका अध्यक्ष तुलसी दाहालका अनुसार आज वडा कार्यालयमा सार्वजनिक गरिएको आय-व्ययमा गोल्डकपबाट ५ लाख ३७ हजार ९२५ रुपैयाँ बचत भएको हो । सार्वजनिक कार्यक्रम पालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास)लगायत जनप्रतिनिधिकाे उपस्थितिमा गरिएकाे हाे ।
उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न सहयोगी दाताको तर्फबाट १५ लाख ६९ हजार ८४३ रुपैयाँ, गाउँपालिका, वडा कार्यालयबाट ३ लाख ५० हजार र अन्य संघसंस्थाबाट ३ लाख २ हजार ८२ रुपैयाँ गरी २२ लाख २१ हजार ९२५ रुपैयाँ संकलन भएको थियो ।
यसैगरी, प्रतियोगिता सम्पन्न गर्न १६ लाख ८४ हजार खर्च भएको क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिए । सहयोगी दातालाई आयोजक क्लबले धन्यवाद ज्ञापन गरेको छ ।
पहिलो संस्करणको च्याम्पियन आठराई त्रिवेणी गाउँपालिकाको माछापोखरी हिटी फुटबल क्लब चाँगे भएको थियो । उसले उपाधिसहित नगद ३ लाख २ हजार ८२ पाएको थियो । फाइनलमा चाँगेले सिदिङ्वा गाउँपालिका ७ को लालीगुराँस युथ स्पोर्टिङ क्लब सुरूम्खिमलाई पराजित गरेको थियो ।